समाचार

निर्माण कार्य नसकिँदै भत्कियो नारायणगढ–मुग्लिन सडक (फोटो) सहित

Loading...

चितवन — निर्माण नसकिँदै नारायणगढ–मुग्लिन सडक भत्किन थालेको छ । जुगेडी नजिक भतेरीको जंगलमा झन्डै ५० मिटर सडक भत्केको हो । आयोजनाको परामर्शदाता कम्पनीले त्यो ठाउँमा पुन: सडक बनाउन कम्पनीलाई निर्देशन दिएको जनाएको छ । कान्तिपुरमा समाचार छ ।

३६ किलोमिटर लम्बाइको यो सडकको ३३ किलोमिटरलाई एसियाली मापदण्ड अनुरुपको दुई लेन बनाउन विस्तारको काम भइरहेको छ । सडकलाई तीन खण्डमा विभाजन गरी फरक–फरक निर्माण कम्पनीमार्फत काम भइरहेको हो ।

अहिले सडक भत्किएको ठाउँ आँपटारीदेखि दासढुंगासम्मको पहिलो खण्डमा पर्छ । त्यो खण्डमा भारतीय कम्पनी बीएलए र नेपाली कम्पनी श्रेष्ठ कन्सट्रक्सन कम्पनी (एससीसी) ले संयुक्त रुपमा काम गरिरहेका छन् । बीएलए एससीसी जेभीका कन्ट्रयाक्ट म्यानेजर प्रभु जोशीले सडक चौडा बनाउन खाडल पुरेको ठाउँमा समस्या आएको स्वीकारे ।

सामान्य मर्मत गरेर नहुने भएकाले पुरै भत्काएर नयाँ बनाउन निर्देशन दिएको आयोजनाका अधिकारीले बताए । ‘तलबाट पुरेर ल्याएको ठाउँ भत्केको देखिन्छ । त्यसलाई सामान्य मर्मतले हुँदैन । फेरि भत्काएर लगभग ५० मिटर सडक पुरै बनाउनु पर्छ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्कर रेग्मीले भने । निर्माणाधिन सडक खण्डमा देखिएको यो ठुलो समस्या हो । अन्य केही साना समस्या पनि देखिएको र सुधारको निर्देशन दिएको उनले बताए ।

निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर जोशीका अनुसार पुग नपुग सात मिटर फराकिलो सडकलाई ११ मिटर बनाउँदा त्यो ठाउँमा तलबाट माटो पुरेर ल्याएको थियो । ‘लगभग तलबाट १० मिटर जति पुरेर सडक चौडा बनाएको हो । त्यो ठाउँमा अहिले समस्या देखियो । अघिल्लो वर्ष पनि केही समस्या आएको थियो । तल ग्याबिन राखेका थियौं । त्यसैमा हलचल आएर सडक चर्कने र भाँसिने भएको होला,’ उनले भने ।

निर्माण पूरा भएको वर्ष दिनभित्र सडकमा समस्या आए निर्माण कम्पनीले नै मर्मत र सुधार गर्नु पर्ने प्रावधान छ । सो खण्डमा अहिले ९८ प्रतिशतको हाराहारीमा मात्रै काम सकिएको छ । बिग्रेको खण्ड बनाउन निर्माण कम्पनीले बीमा कम्पनीबाट रकम पाउने छ । ‘सडक बिग्रेपछि त्यसको जानकारी हामीले बीमा कम्पनीलाई दिएका छौं । बीमाले आएर हेरेपछि काम अगाडी बढ्छ । अबको दुई सातापछि भत्केको ठाउँमा फेरि बनाउने काम सुरु हुन्छ,’ कन्ट्रयाक्ट म्यानेजर जोशीले भने ।

निर्माणाधिन नारायणगढ मुग्लिन सडकको जुगेडी भतेरी नजिक भत्केको सडक । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर 

तीन खण्डमध्ये पहिलो खण्ड तुलनात्मक रुपमा काम गर्न सजिलो ठाउँ हो । तर काम तिब्र गतिमा हुन सकेको थिएन । यो ठाउँभन्दा अफ्ठ्यारो क्षेत्र मानिएको दासढुंगादेखि सिमलतालसम्मको दुई नम्बर खण्डमा एक महिनाअघि नै लगभग काम सकिएको थियो ।

सडक विस्तारको काम ०७२ वैशाखबाट सुरु भएको थियो । सुरुको सम्झौता अनुसार ०७४ सालकै वैशाखमा काम सकिनु पर्थ्यो । तर पटक पटक म्याद थप्दा पनि काम सक्न गाह्रो भएको छ । पछिल्लो पटक थपेको म्याद एक महिनाअघि नै सकिएको थियो । अहिले कालोपत्रेको काम केही सकिएको छ । राजधानी काठमाडौंलाई देशको पुर्व र पश्चिम सँग जोड्ने मुख्य राजमार्ग मानिएको यो सडकमा दिनहु १० हजारको हाराहारीमा गाडी गुड्छन् ।

Loading...

Loading…