समाचार

गुल्मीमा अहिलेसम्म ३० प्रतिशत मात्र रोपाइँ

Loading...

शिवलाल सुवेदी
गुल्मी, २४ असार । मानो रोपेर मुरी फलाउने असार महिना सकिनै लाग्दा गुल्मी जिल्लामा करिब ३० प्रतिशत क्षेत्रमा मात्र धान रोपाई भएको छ । गत बर्ष भन्दा यस बर्ष समयमै पानी नपरेकाले धान रोपाई गत वर्षको भन्दा ढिलो भएको हो ।

असारको तेस्रो सातासम्ममा गुल्मीमा ३० प्रतिशत मात्र धान रोपाई सम्पन्न भएको छ । यतिवेला गाउँ गाउँका कृषकहरुलाई रोपाई गर्न भ्याईनभ्याई छ । अझै गुल्मीमा ७० प्रतिशत रोपाई गर्न बाँकी रहेकोे जिल्ला कृषि विकास कार्यालय गुल्मीले जानकारी दिएको छ । समयमै मनसुन शुरु नहुनाले रोपाई ढिलो भएको कृषि विकास कार्यालय गुल्मीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले बताए ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङक अनुसार किसानहरुले समयमै धानको ब्याड राखेको भएपनि असार १६ गते अगाडि बर्षा नभएकाले रोपाई ढिलाइ भएको हो । केही आकाशे पानीको भरमा रोपाई हुने क्षेत्र बाहेक पानि नटुटने अधिकाँश भागमा धान रोपाई सम्पन्न भएको पन्थीले बताए ।

“अहिले ढिला बर्षा भयो” कृषि विकास कार्यालय गुल्मीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीले धरातलसँग भने, “अव बर्षा लागेको छ, सवैतिर रोपाई गर्न किसानहरुलाई यतिवेला भ्याइनभ्याई परेको छ ।” एकै चोटी सवैतिर रोपाईको चटारोले काम गर्ने मानिसहरु पाउन समेत मुस्किल भएको उनको भनाई छ ।

जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ हजार क्षेत्रफलमा बर्षे धान उत्पादन हुने गर्दछ भने १ हजार हेक्टर क्षेत्रफलमा चैतै धान उत्पादन हुने गर्दछ । केही खेतमा चैते धानका साथै मकै बाली लगाइएको छ ।

धान उत्पादनको पकेट क्षेत्र मानिने इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जे क्षेत्रमा पानी परेपछि एकैचोटी रोपाई शुरु भएको छ । यस्तै केही भागहरुमा सडक निमार्ण गर्ने क्रममा कुलो पुरिनुका साथै भत्किएपछि ढिलाई भएको हो ।

जिल्लाका सवै फाटँहरुमा एकैचोटी रोपाई चलेकाले रोपाई गर्ने मानिसको अभाव सिर्जना भएको धुर्कोट गाउँपालिका ५ की माया भण्डारीले बताईन । “युवायुवतीको बढ्दो विदेश पलायन त्यसै माथी एकैचोटी सवैतिर रोपाई चलेकाले काम गर्ने मानिस पाउनै मुस्किल छ” भण्डारीले भनिन, “अहिले जिल्लाका ग्रामीण क्षेत्रमा कृषि कर्ममा लाग्ने मजदुरको अभाव भएको छ ।”

उनका अनुसार पानी ढिलो परेकाले धान उत्पादन राम्रो नहुने बताईन । अघिल्लो वर्ष असार अन्तिम सम्ममा गुल्मीमा ६० प्रतिशत रोपाई सम्पन्न भएको थियो । साउनको अन्तिम सातामा जिल्लाभरमा रोपाई सकिएको थियो ।

गुल्मीमा चैते धान र मकै रोपेको खेतमा वाहेक अन्य सवै खेतमा असारमै धान रोपाई सकिने गर्दथ्यो । तर अहिले भने साउनको पहिलो सातासम्म पनि असारमा सकिने रोपाई नसकिने किसानहरु बताउछन ।

यतिवेला जिल्लाका चौरासी, सिमलटारी, कुर्घा, आपचौर, तुराङ्ग, तल्लाफाटँ, छल्दी, पनाह, भनभने, निस्ती, अरवेनी, हर्मीचौर, जोहाङ्ग, खैरेनी, शान्तिपुर, वामी, सिर्सेनी लगायतका ठुला फाँटहरुमा रोपाई एकैसाथ चलेको छ ।

बाहैमास सिंचाई हुने खेतमा रोपाईका लागि समस्या नभएपनि अन्य ठाउँका कृषकका लागि पनि यस वर्ष समयमै प्रभावकारी वर्षा नएकाले रोपाई गर्न समस्या भएको हो । अहिले गुल्मीमा खुमलटार, मार्सी, काठेचिन्ह्र, हर्मसराज, खुमल आठ, मन्सुरी, मनसरा, रामधान लगायत करिव १ दर्जन जातका धान उत्पादन हुने गर्दछ ।

यस वर्ष साउन महिनाभर सवै ठाउँमा रोपाई सकिने अनुमान गरिएको छ । समयमै पानी नपरेकाले किसानहरुले समयमै रोपाई गर्न नपाएकाले यस बर्ष धान उत्पादन घटन सक्ने कृषि विकास कार्यालयले जनाएको छ ।

Loading...

Loading…