अन्तर्राष्ट्रिय

अमेरिकाले चीनसँग शुरु गर्यो इतिहासकै ठूलो व्यापार युद्ध

Loading...

काठमाडौं, २३ असार । अमेरिकाले ३४ अर्ब डलर बराबरका चिनियाँ समानमा शुक्रबारदेखि २५ प्रतिशत भन्सार शुल्क लगाएदेखि संसारका सबैभन्दा ठूला दुई अर्थतन्त्रबीच औपचारिक रुपमा व्यापार युद्ध सुरु भएको छ।

चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले विश्व व्यापारका नियम उल्लंघन गरेको भन्दै अमेरिकी कदमको प्रतिवाद गर्ने बताएको छ। अमेरिकाले विश्व इतिहासमै सबैभन्दा ठूलो व्यापार युद्ध सुरु गरेको उसको आरोप छ।

यति मात्र होइन, चीनले पनि ३४ अर्ब मूल्य बराबरका अमेरिकी समान आयातमा २५ प्रतिशत भन्सार शुल्क लगाउने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकाले चीनबाट आयात हुने इलेक्ट्रोनिक सामान तथा अन्य औद्योगिक उत्पादनलाई मुख्य निसाना बनाएको छ। यसअघि अमेरिकाले चीन तथा युरोपबाट आयात हुने स्टिल र आल्मुनियममा प्रतिबन्ध लगाएको छ।

चीनले पनि अमेरिकी कच्चा तेल, प्लास्टिक, केमिकल्स, सवारी साधन र ठूलो मात्रामा कृषि तथा कृषिजन्य सामानमा शुल्क लगाउने तयारी गरेको छ। चीन अमेरिकी कृषिजन्य सामग्रीको सबैभन्दा ठूलो आयातकर्ता मुलुक हो।

दुई मुलुकबीचको व्यापार युद्ध आउने दिनमा झनै चर्कने अनुमान गरिएको छ। दोस्रो चरणमा थप १६ अर्ब रुपैयाँ बराबरका चिनियाँ समानमा शुल्क लगाउने तयारी अमेरिकाले गरेको छ। आवश्यक परे पाँच सय अर्ब डलर बराबरका चिनियाँ सामानमा शुल्क लगाउने चेतावनी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन्।

अमेरिकाले चीनसँगको व्यापार घाटालाई धेरै अघिदेखि मुद्दा बनाउँदै आएको छ। राष्ट्रपति ट्रम्पले चीनसँगको व्यापार घाटालाई आफ्नो चुनावी मुद्दा बनाएका थिए।

अमेरिकाको चीनसँग ३ सय ७५ अर्ब डलर बराबरको व्यापार घाटा छ। चीनको जम्मा व्यापार बचतको ६५ प्रतिशत अमेरिकाले मात्र धान्छ। यस व्यापार युद्धले अमेरिकालार्इ झनै ठूलाे व्यापारिक घाटा पुग्ने बतार्इएकाे छ ।

चीनले बौद्धिक सम्पत्ति चोरी गरेको र अमेरिकी व्यवसायलाई चीनमा निरुत्साहित गरेको आरोप पनि अमेरिकाले लगाउने गरेको छ।

Loading...

Loading…