समाचार

वैदेशिक रोजगारमा जाने नेपालीले तिर्दै आएको अतिरिक्त शुल्क खारेज

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि गैरकानुनी रुपमा बिभिन्न नाममा उठाउँदै आएको शुल्क खारेज गर्ने निर्णय गरेको छ । बिहिबार श्रममन्त्रि गोकर्ण विष्टले पत्रकार सम्मेलन गर्दै बिभिन्न नाममा लिइने शुल्क खारेज गर्ने निर्णय भएको जनाएका हुन् ।


त्यस्तै मन्त्री विष्टले स्वास्थ्य परिक्षणको नाममा भएको सिन्डिकेट पनि खारेज गरेर सबै स्वीकृति प्राप्त मेडिकल सेन्टरहरुले स्वास्थ्य परिक्षण गर्न पाउने बताएका छन् । अहिले मलेसिया जाने नेपाली कामदारहरुले विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउनु परिरहेको भन्दै मन्त्री विष्टले अब भिसा शुल्क समेत तिर्नु नपर्ने गरि परराष्ट्र मार्फत मलेसियालाई परिपत्र गरिएको जनाएका छन् । नेपालस्थित मलेसियन दूतावासले भिषाको लागि अहिले सात सय रुपैयाँ लिने गरेको छ ।

अहिले भिषा बाहेक कामदारले झण्डै १८ हजार रुपैयाँ विभिन्न नाममा खडा गरिएका संस्थाहरूलाई बुझाउनुपर्छ । भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पाँच वर्षदेखि ३२ सय रुपैयाँ असुल्दै आएकोमा मन्त्रीको निर्णयसँगै अब उक्त अशुली पनि गैरकानुनि हुनेछ ।

त्यस्तै, वान स्टप सेन्टरले राहदानी संकलनका नाममा २८ सय रुपैयाँ संकलन गर्दै आएकोमा अब उक्त अशुली पनि गैरकानुनीनै हुनेछ । उता माइग्राम नामको संस्थाले पछिल्लो दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएकोमा अब उक्त अशुलीको गैरकानुनी हुनेछ । त्यस्तै वायोमेट्रिकका नाममा ४५ सय रुपैयाँ बुझाउने गरिएकोमा अब उक्त शुल्क पनि उठाउन पाइनेछैन ।

त्यस्तै अर्को जिएससी नामक संस्था खडा गरेर प्रति कामदार ३ हजार २ सय रुपैयाँ अशुली गरिदै आएकोमा अब उक्त अशुली हट्नेछ । मन्त्री विष्टले मलेसियामा नयाँ सरकार बनेकाले नेपालले लिएको निर्णय यथासिघ्र व्यवहारमा ल्याउन प्रयास गरिने बताएका छन् । मन्त्री बिषयले नयाँ सरकार र त्यहाँको राजनीतिक परिवेश बदलिएको अवस्थामा आफ्नो औपचारिक पहललाई सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् ।