समाचार

दुई अध्यक्षबारे ओलीले भने, ‘टेम्पु चलाए जस्तो होइन, जहाजमा दुई पाइलट हुन्छन्’

काठमाडौं, ३ जेठ । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा सह-अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सामूहिक नेतृत्वप्रति कतिपयले प्रश्न उठाएको भन्दै यसलाई जेट (विमान)सँग तुलना गरेका छन् ।

उनले ठूलो पार्टी चलाउनु जहाज उडाउनु जत्तिकै भएको टिप्पणी गरेका हुन्।

राष्ट्रिय सभागृहमा पार्टी एकीकरण घोषणा सभामा बोल्दै उनले भने, ‘टेम्पु चलाए जस्तो होइन, जहाजमा दुई पाइलट हुन्छन्।’

पार्टी एकीकरणपछि नयाँ पार्टीमा ओली र प्रचण्ड अध्यक्ष रहने छन्।

पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै ओलीले दुई पार्टी मिसिएको नभई घोलिएको बताए। हाइड्रोजन र अक्सिजन मिलेर पानी बने जस्तै गरी पार्टी एकीकरण भएकाले अब दुई पार्टी छुट्टिन नसक्ने ओलीले बताए।

कार्यक्रममा उनले कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ बहुमत सामान्य भइसकेको बताएउदै आगामी चुनावमा आफूहरुको पार्टीले तीन चौथाइ मत ल्याउने दाबी समेत गरे।