समाचार

नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा ‘विष्णु पौडेल’

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीको सञ्चालनका लागि नौ सदस्यीय सचिवालय बनेको छ । नेकपा(एमाले) र माओवादी केन्द्रका दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिका आठ जना र एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर नौ सदस्यीय सचिवालय गठन गर्ने निर्णय बालुवाटारमा बसेको बैठकले निर्णय गरेको छ ।

यस्तै एकतापछि बन्ने पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

स्रोतका अनुसार विष्णु पौडेल महासचिव बन्ने भएका छन् । संगठनको काम गर्ने जिम्मेवारीसहित पौडेललाई महासचिवको जिम्मेवारी दिन लागिएको हो । भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ ।

एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ । जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।