समचार

संसद्को दोस्रो अधिवेशन सुरु, चार वटा अध्यादेश प्रस्तुत

Loading...

संघीय संसद्को दोस्रो अधिवेशन आइतबारबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारबाट सुरु हुने गरी बैठक आव्हान गर्नुभएको हो ।

प्रतिनिधि सभा बैठककोे सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट अधिवेशन आव्हानसम्वन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

शहिदको सम्झनामा १ मिनेट मौनधारण गरेपछि बैठक कार्यसूचीमा प्रवेश गरेको थियो । संविधान अनुसार संसद् अधिवेशनको आव्हान र अन्त्य राष्ट्रपतिले गर्ने व्यवस्था छ । सभामुख महराले बुधबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी अधिवेशनभरको सम्भावित कार्यसूचीबारे जानकारी गराउनुभएको थियो ।

उहाँले असार अन्तिम सातासम्मको कार्ययोजना प्रस्तुत गर्नुभएको हो । राष्ट्रिय सभाले पनि असारसम्मको सम्भावित कार्यसूची बनाइसकेको छ । संघीय संसद्को पहिलो बैठक फागुन २१ गतेबाट ठीक १ महिनासम्म चलेर फागुन २० गतेबाट अन्त्य भएको थियो । प्रतिनिधि सभामा ११ र राष्ट्रिय सभामा १० वटा बैठक बसेका थिए ।

आइतबारको बैठकमा काुननमन्त्री शेरबहादुर तामाङले सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवा, शर्त र सुविधासम्वन्धी अध्यादेश, २०७५ पेश गर्नुभयो । गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानुनमन्त्री राष्ट्रिय सभा निर्वाचनसम्वन्धी अध्यादेश, २०७५ र शिक्षा , विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५ प्रस्तुत गर्नुभयो ।

राष्ट्रपतिले पौष १४ गते राष्ट्रिय सभा निर्वाचन अध्यादेश जारी गर्नुभएको थियो । त्यस्तै प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले मस्यौदा समितिको प्रतिवेदन संसद्मा प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय सभामा पनि प्रतिनिधि सभामा प्रस्तुत ४ वटै अध्यादेश प्रस्तुत भए । राष्ट्रिय सभा नियमावाली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले मस्यौदा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसअघि मस्यौदा समितिको म्याद थपको प्रस्ताव पेश गरिएको थियो । दुवै सदनले म्याद थपको प्रस्तावलाई समर्थन जनाएका थिए । संघीय संसद्को बैठक बसेको भोलिपल्ट (फागुन २२ गते ) १३ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो ।

राष्ट्रिय सभामा ९ जनाको नियमावली मस्यौदा समिति गठन गरिएको थियो । समितिले मस्यौदा बनाउन १ महिनाको समय पाएको थियो । समितिले बैशाख ११ गते सभामुखको सहमतिमा म्याद थप गरेको थियो । प्रतिनिधि सभाको बैठकले सभामुख र उप–सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नेको नाम परिवर्तन गर्ने सभामुख महराको प्रस्तावलाई सदनले सर्वसम्मत रुपले समर्थन जनाएको छ ।

एमालेका खगराज अधिकारीको ठाउँमा राधा ज्ञवालीको नाम राखिएको छ । अधिकारी एमाले संसदीय दलका प्रमुख सचेतक बन्नुभएको छ ।
नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि संशोधन हाल्नका लागि मंगलबार दिउँसो २ बजेसम्मका लागि समय दिइएको छ । संसद् सचिवालयमा नै फारम पाइने सभामुखले जनाउनुभयो । प्रतिनिधि सभाको अर्को बैठक बुधबार १ बजे बस्ने छ ।

Loading...

Loading…